सबलाङ्गका लागि अनुकरणीय बन्दै कृषक गौतम

हरि बाँस्तोला । पोखरा, २३ वैशाख  : दृढ इच्छा शक्ति र लगनसँगै अवसर पाउने हो भने समाजमा फरक क्षमता भएका व्यक्तिले पनि कृषि व्यवसायबाट यथेष्ट आम्दानी गर्न सक्छन् भन्ने तथ्यलाई यहाँका एक कृषकले चरितार्थ पारेका छन् ।

पोखरा महानगरपालिका वडा नंं १४ चाउथेका कृषक केवल गौतमले ह्वीलचियरको सहायताबाट हाई–टेक (हरितगृह) भित्र विभिन्न जातका मौसमी एवम् बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गरेर अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाई) सुपरजोनअन्तर्गत निर्माण गरिएको ताप अनुकूलित हाई–टेकभित्र रायो साग, काँक्रो, गोलभेंडा, धनिया, सिमी, भेंडेखुर्सानी लगायतका तरकारी खेती गर्दै आउनुभएको छ ।

परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नै लगानीसहित एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चारवटा हरितगृहमध्ये यतिखेर दुई वटामा गोलभेडा, एउटामा काँक्रो र अर्कोमा रायो साग र धनिया लगाउनुभएको छ ।

“शारीरिक रुपमा फरक क्षमताका कारण ह्वीलचियरको सहायतामा विगत लामो समयदेखि व्यावसायिक तरकारीमार्फत स्वदेशमै मनग्य आम्दानी गरेका गौतमले सबलाङ्गलाई गरे के हुँदैन भन्ने चुनौती समेत थपिदिनुभएको छ ।

उमेरले पाँच दशक पार गर्नुभएका गौतमको एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र यतिखेर एक भागमा लोभै लाग्ने गरी लटरम्म काँक्रो फलेको छ भने अर्कोतर्फ भर्खरै काँक्रोका विरुवा पूmल खिल्न शुरु गरेका छन् ।

बाह्रै महिना काँक्रोलगायत विभिन्न जातका तरकारी उत्पादन गरी बजारमा पु¥याउने उद्देश्यका साथ उत्साहपूर्वक तरकारीखेती गर्दैआउनु भएका उहाँले फागुनको अन्तिम साता लगाएको भक्तपुरे स्थानीय जातको काँक्राको विरुवाले वैशाखको दोस्रो सातादेखि उत्पादन दिन शुरु गरेको राससलाई बताउनुभयो ।

वैशाख १८ गते बुधबार मात्र ३०० केजी काँक्रो टिपेर बजारमा पठाउँदा २० हजार रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादित काँक्रो अहिले थोकमै प्रतिकेजी ६५ रुपैयाँमा बिक्री हुने गरेको छ । गएको शुक्रबार मात्रै पनि २०० केजी टिपेर उहाँले बजार पठाउनुभएको थियो । उत्पादित काँक्रो बिक्री हुँदैन कि भन्ने चिन्ता उहाँलाई छैन । व्यापारी बारीमै आएर उहाँका उत्पादन लैजाने गरेका छन् । कतिपयलाई पनि फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पु¥याइदिने गरेको उहाँले जानकारी दिनुभयो ।

टनेलका नौ वटा ड्याङबाट मात्र एक महिनामा लगभग तीन लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उहाँको छ । उहाँ एक महिनाको अवधिमा रायो साग बिक्री गरेर डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

सोही टनेलको १७ वटा ड्याङमा लगाइएका स्थानीय भक्तपुरे काँक्राका बिरुवा फूल खिल्न शुरु गरेका छन् । त्यसबाट चार लाख रुपैयाँसम्म कमाउने गौतमको लक्ष्य छ । उहाँले मानव स्वास्थ्यलाई ध्यानमा राखी ‘सी’ समूहको औषधि प्रयोग गर्ने गर्नुभएको छ । औषधि राखेको ७२ घण्टा पछि मात्र काँक्रा टिपेर बजारमा पु¥याउने गरिएको छ ।

पोखराका राष्ट्र बैक चोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा बिक्री गर्ने गरेको बताउँदै गौतमले भन्नुभयो – “हाई–टेकमा लगाइएको व्यावसायिक तरकारी खेतीबाट मासिक सरदर एक लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।”

पृथ्वी राजमार्गको विजयपुुर खोला नजीक रहेको उहाँको खामघले फार्मले पाँच रोपनी जग्गा भाडामा लिएर शुरु गरेको व्यावसायिक तरकारी खेतीमा दैनिक पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

फलेका नौवटा ड्याङमध्ये तीन वटा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकी बिएस्सी एजी हर्टिकल्चर विषयको इन्टर्नसिपका क्रममा प्रधानमन्त्री सुपरजोनमा कार्यरत विद्यार्थी वर्षा बाँस्तोलाले लगाएकामा तिनमा अन्यको तुलनामा दोब्बर फल लागेको उहाँले जानकारी दिनुभयो । छात्रा बाँस्तोलाका अनुसार हाई–टेकभित्र मौरी लगायतका कीरा प्रवेश गर्न नपाउँदा परागशेचनमा अवरोध भएको कारण फल कम लाग्ने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

आफूले लगाएका ड्याङमा हाते परागशेचनसहित इथिफोन हर्मन र बो¥याक्सको मात्रा मिलाइएको उहाँले जानकारी दिनुभयो । अनुसन्धान गरिरहेकामध्येका तीन वटा ड्याङबाट दोस्रो पटक एकै दिनमा ९ हजार ६५८ रुपैयाँको १४९ केजी काँक्रो टिपेको उहाँले बताउनुभयो ।

पोखरा र आसपासमा एक हप्तायता विभिन्न समयमा आएको असिनासहितको पानीले खुल्ला र सामान्य टनेलमा कृषकले लगाएको तरकारी खेती नष्ट गरेको भएपनि हाई–टेक प्रविधिमा लगाइएको तरकारी पूर्णरुपले सुरक्षित रहेको छ ।

“आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण” भन्ने मूल नाराका साथ सरकारले शुरु गरेको परियोजनाबाट अनुदान लिएर पहिलो पटक हेमजा, गगनगौडा, सुन्दरीबजार, चाउथे, मझेरीपाटनमा हाईटेक(हरित गृह) निर्माण सम्पन्न भई उत्पादित वस्तु बजारमा आएको परियोजना प्रमुख वसन्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा कास्की जिल्लामा व्यावसायिक तरकारीखेती विकास तथा विस्तारका लागि परियोजनाले कुल रु ११ करोड ६१ लाख ७० हजार विनियोजन गरेको हो ।

परियोजनाले दास्रो चरणमा ११ वटा हाई–टेक, ३० वटा प्लाष्टिक घर निर्माण एवं साना सिँचाइ आयोजना ५४ गरी कुल एक करोड ४४ लाख ५० हजार रुपैयाा अनुदान प्रदान गरिएको छ । तेस्रोे चरणमा प्रतिफलमा आधारित प्रोत्साहन र साना औजार खरिदका लागि अनुदान प्रदान गर्ने तयारी भइरहेको छ ।

प्रविधियुक्त हरित गृहमा सिधै घाम, पानी, कीरा प्रवेश गर्न नसक्ने र बिरुवालाई आवश्यकतानुसार लगभग ५ डिग्रीसम्म तापक्रम तल माथि गर्न सकिने उहाँले बताउनुभयो ।

अत्याधुनिक प्रविधियुक्त हरितगृहमा उत्पादित तरकारी र गुणस्तरीय बिरुवाले तरकारीखेती विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै कास्कीलाई तरकारीमा आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य छ ।

“कास्की जिल्लामा कुल एक हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती विस्तार गर्ने परियोजनाको कार्यक्रम रहेको छ,” प्रमुख श्रेष्ठले भन्नुभयो – “कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत र पोष्ट हार्वेटका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको हो ।”

आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादन, अर्गानिक खेतीको सम्भाव्यता, उत्पादनमा वृद्धि, असिना, हावाहुरी, रोग कीराबाट सुरक्षा, श्रमको सदुपयोग गर्दै सानो जग्गाबाट बढी फाइदा लिन सकिने उक्त प्रविधिबाट उत्पादित तरकारीको बजार प्रवद्र्धनमा परियोजना लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.