पुनःनिर्माण प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत
निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करीब रु छ खर्ब ३० अर्ब रकम सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । सोहीअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।
उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिनुभयो ।
उहाँले प्राधिकरणको पुनःनिर्माणको काम द्रुत गतिमा अघि बढिरहेको तथा पछिल्लो एक वर्षमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको भन्दै पुनःनिर्माणको कामलाई छिटो र थप प्रभावकारी बनाउन सरकारले हरतरफले प्राधिकरणलाई सहयोग गर्ने वचन दिनुभएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।
