ह्याण्डबलमा स्वर्णपदक दिलाउने सम्मानित

कास्की, २१ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीलाई सम्मान गरिएको छ । कास्की जिल्ला ह्याण्डबल सङ्घले स्वर्ण पदक दिलाउने ह्याण्डबलका खेलाडीलाई पोखरामा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो

। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेशसभा सदस्य मोहन रेग्मी, इन्द्रधारा विष्ट र मिना गुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले खेलाडीलाई सम्मानपत्रको साथमा खादा र अबिर लगाएर सम्मान गर्नुभयो ।

सम्मानित खेलाडीमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल थापा, प्रविन गुरुङ, पवन छन्त्याल, विशाल नेपाली, राता केसी, चन्द्र केसी, कदम चालिसे, जोमिश पुर्जा, शरण थापा, सन्तोष श्रेष्ठ, कल्याण भण्डारी र शिव छन् । त्यस्तै टिम प्रशिक्षक भीमसेन शाक्य, सहायक प्रशिक्षक गणेश अर्याल र व्यवस्थापक सुमन थकालीलाई सम्मान गरिएको थियो । गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बललाई फाइनल खेलमा पराजित गरी प्रदेशलाई समूहतर्फ पहिलो स्वर्ण पदक दिलाएको थियो ।

कार्यक्रममा मन्त्री गुरुङले विश्वका अन्य देशसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने सजिलो माध्यम नै खेलकूद भएकाले सम्भावना भएका खेलमा सरकार लगानी गर्न तयार रहेको भन्दै निजी क्षेत्रले पनि सघाउनुपर्ने बताउनुभयो । आर्थिक विकास र समृद्धिको लागि खेलकूदलाई पनि सँगै लैजानुपर्ने बताउँदै उहाँले सरकारको न्यून लगानीमा गण्डकी प्रदेशका खेलाडीले विभागीय टोलीलाई पराजित गरी स्वर्ण पदक दिलाउनु गौरवका विषय भएको धारणा राख्नुभयो ।

नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पोखरामा हुने हुँदा अब राज्यले ह्याण्डबल खेलमा लगानी गर्नुपर्ने बताउनुभयो । कास्की जिल्ला गल्फ सङ्घका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले ह्याण्डबल खेलको विकासका लागि जिल्ला ह्याण्डबल सङ्घलाई रु २५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.