प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको शुभारम्भ
काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ ।
‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गर्नुभएको हो । गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति माध्यमिक विद्यालय यस कार्यक्रमको पहिलो सूचना प्रविधिमैत्री विद्यालय हुन पुगेको छ ।
काठमाडौँको कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रिमोट क्लिक गरी गर्नुभएको सो उद्घाटन अनलाइन प्रविधिको माध्यमबाट उक्त विद्यालयमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सरकारले हरेक प्रदेशको कम्तीमा एक सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ ।
सोही कार्यक्रममा डिजिटल फाइनान्स कम्पनी स्थापनाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच सहमतिपत्रमा हस्तक्षर भयो । लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकका कार्यकारी प्रमुख कविराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
यसैगरी सूचना प्रविधि छात्रवृत्तिका लागि कम्प्युटर एसोशिएसन (क्यान) महासङ्घका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एकेडेमीका अध्यक्ष पङ्कज जलानबीच सहमति भयो । सोअन्तर्गत रु डेढ करोडको लागतमा ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, सभ्य र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त भएको बताउनुभएको छ । ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री मुलुक तीव्रगतिका साथ विकासमा अघि बढिरहेको जनाउँदै मुलुक डिजिटल नेपालको आधार तय गरिने उल्लेख गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा देखिने विकृतिबाट होसियार हुँदै त्यसलाई नियमितता दिने पक्षमा सरकार रहेको जनाउँदै भन्नुभयो, “पहिला पहिला सूचना प्रविधिको माध्यम नहुँदा आगो भर्भराउँदा वा काग कराउँदा कुनै सूचना वा सङ्केत मानिने प्रचलन थियो । अहिले हामी डिजिटल नेपालमा प्रवेश गरेका छौँ । हामी इन्टरनेटलाई व्यापक बनाउन खोजिरहेका छौँ र सञ्चारमा आज जनताको पहुँच र सबैका लागि प्रविधि र सुविधा दिनेछौँ ।”
उहाँले सबैतिर इन्टरनेट पु¥याउन अप्टिकल फाइबटर बिछ्याएर सूचनाको महामार्ग तयार भइरहेको र यी आवश्यकताका विषय भएकाले यसमा कमिशन खाने वा कर लाद्ने सोच कसैले राख्नु हुँदैन भन्नुभयो । “जति पूर्वाधार र प्रविधिमा विकास र प्रयोग भयो । कम लागत, बढी आम्दानी गर्न सके तीव्र विकास हुन्छ । भेरी बबइ बहुद्देश्यीय आयोजनामा चलाइएको टनेल बोरिङ मेसिन प्रविधिको प्रयोगबाट तोकिएको समयअगावै सुरुङ खन्ने काम पूरा भएको छ । हामी समृद्ध नेपालको आङ्क्षा पूरा गर्न यसरी नै नयाँ–नयाँ काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्षसम्म यस क्षेत्रमा आम जनता, निजी क्षेत्र र सरकार मिलेर फड्को मार्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आगामी पन्ध्राँै योजनाको अवधिमा डिजिटल नेपालको रणनीतिलाई पूर्ण कार्यान्वयन गरिने बताउनुभयो । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले लिएको उच्च आर्थिक वृद्धि र सुशासनको लक्ष्य पूर्तिका लागि डिजिटल नेपाल अभियान प्रभावकारी हुने बताउँदै सरकारले चाँडै डिजिटल नेपालको ढाँचालाई स्वीकृत गरी कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।
कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सरकारले बनाएको ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ मूल नारालाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । दिवसका अवसरमा यस सूचना प्रविधिका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी र निजी क्षेत्रका चार व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गरिएको थियो । प्रति संस्था रु ५० हजारको सो पुरस्कृत हुनेमा नेपाल प्रहरी, पाइला टेक्नोलोजी प्रालि, वल्र्डलिङ्क प्रालि र ई सुरेशकुमार कर्ण हुनुहुन्छ ।
