सगरमाथामा गाउँ चिनाउने झण्डा
काठमाडौँ, १७ वैशाख : कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेपाले आफ्नो १४ औँ पटकको सगरमाथा आरोहणमा गाउँ चिनाउने झण्डा फहराउने हुनुभएको छ ।
मुुलुकका प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयासअनुरुप आरोही शेर्पाले ‘मेरो गाउँ मेरो ठाउँ’ उल्लेखित झण्डा सगरमाथामा फहराउन लाग्नुभएको हो । विगत चार महीनादेखि ‘वि विल राइज फाउण्डेशन’ ले ओझेलमा रहेका पर्यटकीय स्थलको खोजी अभियानअन्तर्गत ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
गन्तव्यतर्फ लाग्नुभएका आरोही शेर्पालाई सगरमाथामा लगिने झण्डा हस्तान्तरण गरियो । राष्ट्रियसभा सांसद कोमल ओली, नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम कार्यान्वयन उपसमितिका संयोजक सुरज वैद्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्य, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल र फ्रान्सका लागि पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले आरोही शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगीले गाउँठाउँमा ओझेलमा रहेका कुनै स्थान, पर्व, कला, संस्कृति, खानपान, वेषभूषालगायतका कुनै पनि विषयमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो तयार पार्न सक्नेछन् । एक प्रतियोगीले एक वा एकभन्दा बढी भिडियो समावेश गर्न पाउने छन् ।
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले रु एक लाख, दोस्रोले रु ५० हजार र तेस्राले रु २५ हजारको पुरस्कार पाउनेछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियो छनोट हुने र त्यसले पनि रु एक लाखकै पुरस्कार पाउने बताइएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट रु दुई लाखको एकेडेमी कोर्सको ज्ञान पनि पाउने छन् ।
