बाँसखर्कमा घरबास निर्माण शुरु
तनहुँ, १७ वैशाख : भानुनगरपालिका–११ बासखर्कमा घरबास निर्माण कार्य शुरु गरेको छ । गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि रु १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण कार्य शुरु गरेको हो ।
गुरुङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा अहिले पाँच घरबाट होमस्टे शुरु गर्न लागेको बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । स्थानीयवासी पर्यटकलाई आर्कषण गर्न यतिबेला बाटोमा ढुङ्गा छाप्ने काम गरिरहेका छन् अध्यक्ष गुरुङले भन्नुभयो । होमस्टे निर्माणमा स्थानीयवासीले चासो दिएर काम गर्न थालेका छन् ।
पाँच घरबाट शुरु गरिएको होमस्टेमा दश पाहुनालाई राख्न सकिन्छ उहाँले भन्नुभयो, “यस होमस्टेमा आउने पाहुनालाई अर्गानिक एवं स्थानीय गाउँ घरमा उत्पादित परिकारको व्यवस्था हुने छ । प्रत्येक कोठामा दुई वटा खाट राखिने र एउटा खाटमा एक जना मात्र पाहुनाको व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पाँच घर होमस्टे निर्माणमा तीन वटा घर भूकम्प प्रतिरोधात्मक रहने र दुई वटा पुराना घरलाई रङरोगन गरेर बनाउन लागिएको हो ।
उक्त क्षेत्रबाट हिमशृङ्खलाको साथै मनोरम दृश्य सजिलै देख्न सकिने हुँदा एक पटक पुगेका जो कोही पाहुना पुनः दोहोराएर जान सक्ने सम्भावना रहेको वडाध्यक्ष तारानरेश पौडेलले बताउनुभयो । स्थानीयवासीले स्वागत गेट निर्माणको साथै बाटोमा ढुङ्गा बिच्छाउने कार्यमा यतिबेला व्यस्त देखिन्छन् उहाँले भन्नुभयो । ५८ घरपरिवार रहेको उक्त क्षेत्रमा दमौली बजारबाट डुम्रे बजार हुँदै करीब दुई घण्टाको यातायात सेवाबाट पुग्न सकिन्छ ।
कुण्ड निर्माण
बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट नजिक मस्र्याङ्दी नदी किनारमा रहेको तातो पानीको मूल संरक्षण गर्दै कुण्ड निर्माण कार्य थालेको छ । वातावरणीय पर्यावरण संरक्षण गर्दै धार्मिक पर्यटकीय र वनभोजस्थलको रुपमा विकास गर्न कुण्ड निर्माण गर्न लागेको हो ।
उक्त क्षेत्रमा रहेको करीब १० रोपनी सार्वजनिक जग्गा छुट्टाएर डोजर लगाई सम्याउने कार्य सम्पन्न भएको वडाध्यक्ष धुव्रप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुण्डको पानी जाडो समयमा उमालेको जस्तै तातो हुने उक्त कुण्डको पानीलाई पोखरी बनाएर संरक्षण गरिने योजना छ, उहाँले भन्नुभयो । गर्मी याममा भने पानीको तापक्रम सामान्य रहने गरेको पाइएको छ ।
उक्त क्षेत्रको प्रवद्र्धन गर्नका लागि गाउँपालिकाबाट रु दुई लाख विनियोजन गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताउनुभयो । गाउँपालिकाभित्रका प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनाअनुरुप पार्क, मन्दिर, प्रतिक्षालय निर्माण गरिने योजना रहेको छ । उक्त क्षेत्रमा कुण्ड निर्माणपश्चात् यस क्षेत्रकै प्रमुख गन्तव्यस्थल बनाउन स्थानीयवासी लागि परेका छन् ।
