आठौँ राष्ट्रिय खेलकूद : १२ खेल खेल्न बाँकी, ८७ स्वर्णका साथ आर्मीको अग्रता

शरद शर्मा/भेषराज बस्नेत । राँझा, ९ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश ३५ खेलमध्ये आजसम्म २३ खेल सम्पन्न भएका छन् । गत चैत २७ गतेदेखि शुरु भएको प्रतियोगितामा समावेश भएका ३५ खेलमध्ये अब १२ खेल खेल्न बाँकी रहेका छन् । तीमध्ये अधिकांश खेल मङ्गलबार सम्पन्न हुने प्रदेश ५ प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, बक्सिङ र भारोत्तोलन खेल सकिएका छन् भने बुधबार समापनका दिन फुटबल, क्रिकेट, सुटिङ र पौडी खेल मात्र हुनेछन् ।

फुटबल महिला÷पुरुष, तेक्वान्दो, कराते, भलिबल महिला÷पुरुष, उसु, ह्याण्डबल महिला÷पुरुष, आइटिएफ तेक्वान्दो, सुटिङ, सफ्ट टेनिस, क्रिकेट महिला÷पुरुष, खोःखो महिला÷पुरुष र पौडीको पदकको टुङ्गो लाग्न बाँकी छ । तेक्वान्दो, कराते, भलिबल, उसु, ह्याण्डबल, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, खोखो (महिला÷पुरुष) भलिबल, (महिला÷पुरुष), क्रिकेट महिला मङ्गलबार र पुरुष क्रिकेट बुधबार फाइनल खेल हुने भएको छ ।

फुटबलको छनोट चरणको प्रतियोगिता बाहिर भए पनि फाइनल खेल नेपालगञ्जस्थित रङ्गशालामा हुने भएको छ । फुटबल पुरुषतर्फको सेमिफाइनल खेल नेपालगञ्जस्थित रङ्गशाला र महिलाको खेल दाङको बेलझुण्डीमा हुनेछ । फुटवल पुरुषतर्फको छनोट चरण रुपन्देही र बाँकेको खजुरा एवं महिला फुटवल दाङको बेलझुण्डी र कपिलवस्तुमा भएको थियो । बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा भएका थिए ।

प्रतियोगिताको औपचारिक उद्घाटन यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहबीच गर्नुभएको थियो । ‘आठौँ राष्ट्रिय खेलकूद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजारभन्दा बढी खेलाडी सहभागी छन् ।

८७ स्वर्णका साथ आर्मीको अग्रता

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा कायमै रहेको छ । अहिलेसम्म २०७ स्वर्ण, २०६ रजत र ३०१ कास्य गरी जम्मा ७१४ पदकको छिनोफानो भएको छ । त्रिभुवन आर्मी क्लब ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य गरी १८६ पदकसहित अङ्क तालिकामा पहिलो स्थानमा छ । ३५ स्वर्ण, ३६ रजत र ४४ कास्य गरी ११५ पदकका साथ सशस्त्र प्रहरी बलको एपिएफ दोस्रो स्थानमा छ भने ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य गरी कूल ९६ पदक जित्दै नेपाल पुलिस तेस्रो स्थानमा छ ।

प्रदेश नं ३ ले १६ स्वर्ण, २४ रजत र ३९ कास्य, प्रदेश ५ ले सात स्वर्ण, १७ रजत र ३३ कास्यसहित ५७ पदक, सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १९ कास्य गरी ३१ पदक, गण्डकी प्रदेशले ६ स्वर्ण, ११ रजत र २९ कास्य गरी ४६ पदक, प्रदेश नं २ ले ६ स्वर्ण, सात रजत र १४ कास्य गरी २७ पदक, प्रदेश १ ले चार स्वर्ण, १६ रजत र ३७ कास्य गरी ५७ पदक, कर्णाली प्रदेशले दुई स्वर्ण, दुई रजत र ६ कास्य गरी १० पदक तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले चार स्वर्ण र चार कास्य गरी आठ पदक जितेको छ । तीन विभागीय टोलीसहित सात प्रदेश र गैरआवासीय नेपालीको टोली सहभागी प्रतियोगितामा कूल ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.