नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण

काठमाडौँ, ५ वैशाख : नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ ।

नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रह अहिले आकासमा पुगेको र भोलि बिहान ३ः३० बजे आइएसएस डकिङ ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ मा जोडिनेछ । संयुक्त राष्ट्र सङ्घको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा)मा दर्ताको परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताउनुभयो ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनीयरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट अघि बढेको नास्टले जनाएको छ ।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरेको छ । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ राखिएको छ ।

अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषयः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उहाँले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाली वैज्ञानिकलाई धन्यवाद दिँदै सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले ‘नेपाली स्याट–१’ को प्रक्षेपण पूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकमा शुभकामना व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । नेपाली स्याट–१ को प्रक्षेपणसँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ ।

नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण भएसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत नेपालले पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुशी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सहितका सबै निकायलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्रीले आफ्नो ट्विटमा लेख्नुभएको छ, “आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ ।

यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.