सगरमाथा आधार शिविर भरिभराउ

भोजराज कार्की । सोलुखुम्बु, ३ वैशाख : हिमाल आरोहणको अनुमति जारी भएसँगै विभिन्न हिमालका आधार शिविर भरिभराउ हुन थालेको छ ।

पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरुका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको हो ।

सगरमाथा आधार शिविरमा आरोही र उनीहरुका सहयोगीले भरिभराउ भएको छ । सगरमाथा आरोहणमा आउने आरोहीको बन्दोबस्ती मिलाउन आएका सहयोगीले आवश्यक तयारी गरिहेको आधार शिविरबाट आइसफल चिकित्सक संयोजक आङकामे शेर्पाले जानकारी दिनुभयो ।

“करीब ४०० जना जति आधार शिविरमा बसेका छन्,” शेर्पाले भन्नुभयो, “बाटो बनाउन हामी आउँदा सुनसान थियो, अहिले टनाटन छ ।”

७८ समूहका ६९२ लाई आरोहण अनुमति

हिमाल आरोहणको मौसम शुरु भएपछि सोमबारसम्म ७८ समूहका ६९२ जनाले आरोहण अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित देशका २० हिमाल आरोहणका लागि उक्त आरोहीले अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।

हिमाल आरोहणको वसन्त ऋतु शुरु भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोमबारसम्म ३६० जनाले अनुमति पाएको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथाको शिखर चढ्नका लागि ४६ देशका ३६० जनाले अनुमति पाएका हुन् ।

अनुमति पाउनेमा २९० पुरुष र ७० जना महिला छन् । सगरमाथाको आरोहण अनुमति लिनेमा सबैभन्दा बढी भारतका ६७ पुरुष र १६ महिलासहित ८३ जना आरोही रहेका छन् ।

त्यस्तै अमेरिकाका ६७ जना रहेका छन् भने चीनका ५९ र बेलायतका ४० जना पर्वतारोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि नेपाली १२ जना रहेका छन् जसमा ६ महिला र ६ पुरुष छन् ।

सोलुखुम्बु जिल्लामै पर्ने अर्को आमादब्लम हिमाल आरोहणका लागि पाँच समूहका ४९ जनाले अनुमति लिएका छन् । त्यस्तै लोत्से हिमाल आरोहणका लागि ६ समूहका ६६ र नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका पर्वतारोहण शाखाका नायब सुब्बा निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३, मकालु हिमाल आरोणका लागि चार समूहका ५३, कञ्जनजङ्घा हिमाल आरोहणका लागि चार समूहका ३२, पुमरी हिमाल आरोणका लागि एक समूहका ११ जना आरोहीले अनुमति लिएका छन् ।

करीब रु ४७ करोड राजश्व सङ्कलन

आरोहणको नयाँ सिजन शुरु भएसँगै विभिन्न हिमाल आरोहीबाट रु ४६ करोड ५९ लाख ७० हजार २५० राजश्व सङ्कलन भएको छ । देशका २० वटा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।

सोलुखुम्बुको विभिन्न हिमाल आरोहण गर्ने आरोहीबाट मात्रै रु ४३ करोड ७३ लाख ६६ हजार ३७२ राजश्व सङ्कलन भएको छ । पर्यटन विभागले उपलब्ध गराएको सोमबारसम्मको तथ्याङ्कअनुसार सगरमाथा आरोहीबाट रु ४२ करोड दुई लाख ७५ हजार ७६२ रुपैँया राजश्व सङ्कलन भएको हो ।

आमादब्लम हिमाल आरोहीबाट रु २१ लाख ६३ हजार ३०० लोत्से हिमाल आरोहीबाट रु एक करोड ३१ लाख ३९ हजार ६४० राजश्व सङ्कलन भएको पर्यटन विभागका पर्वतारोहण शाखाले जनाएको छ । यस्तै सोलुखुम्बुमै रहेको अर्को नुत्प्से हिमाल आरोही दुई समूहका २७ जनाबाट रु १७ लाख ८७ हजार ६७० राजश्व सङ्कलन भएको नायब सुब्बा निरौलाको भनाइ छ ।

आधार शिविरमा आरोही समूहका सदस्य

आइसफल चिकित्सकको टोलीले क्याम्प दुईसम्म बाटो खोलेसँगै आरोहीका सहयोगीसमेत क्याम्प एक र दुईमा टेन टाँगिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो ।

(एसपिसिसी)का कार्यक्रम अधिकृत राईका अनुसार आरोही धामाधम आधार शिविर प्रस्थान गरिरहेका छन् । “अधिकांश आरोहीका सहयोगी आइरहेका छन्,” अधिकृत राईले भन्नुभयो, “सहयोगीले आवश्यक बन्दोबस्ती मिलाउँछन् अनि मात्र आरोही आउने हुन्छ, अहिले यकिन विवरण त भन्न सक्ने अवस्था छैन, तर अब त अधिकांश आरोहीका सहयोगी आधार शिविर पुगेका छन्, आरोही पनि आउँदैछन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.