प्रदेशबाट राजपत्र प्रकाशन हुने
विराटनगर, २७ चैत : प्रदेश सरकारले यही चैत २८ गतेदेखि प्रदेशस्तरीय राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रदेश नं १ को आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७६ का लागि जनैपूर्णिमा, उधौली पर्व, मुसलमानको पर्व इदुल फित्र (रमजान) र छठ पर्व गरी प्रदेशस्तरीय थप चार वटा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।
बैठकले बृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ संसद्मा पेश गर्ने स्वीकृति प्रदान गरेको छ । यस्तै विपत् व्यवस्थापन ऐन–२०७५ केही संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।
यस्तै प्रदेश सरकारले विपद् कोष सञ्चालन कार्यविधि–२०७५ स्वीकृत प्रदान गरेको छ भने सामाजिक विकास संस्था नियमावली संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
क्रसर उद्योग बन्द गर्न आग्रह प्रदेश नं १ प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्यले सुकुम्वासी समस्या, विकास निर्माण, क्रसर उद्योगले पारेको असर र मानव सभ्यताका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको छ ।
बैठकमा प्रदेशसभा सदस्य कुलप्रसाद साँम्वाले मन्दिर, घनाबस्ती वरिपरि सञ्चालित मोरङको उर्लाबारी नगरापालिका–१ का पाँच वटा क्रसर उद्योगका कारण स्थानीयवासी भूकम्पीय कम्पन्नजस्तो अनुभव गरिरहेको र विगत १२ दिनदेखि जनता आन्दोलित भएकोले अविलम्ब समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
सदस्य ओमप्रकाश सरावगीले झापाको दक्षिण क्षेत्रमा निर्माण भएको कचनाकेवल, घेराबारी, हल्दीबारी, पाठामारी, वालुवाडी सडक, पुल डेढ वर्षदेखि ठप्प भएकाले प्रदेश सरकारले अविलम्ब बजेटको व्यवस्था गरी निर्माण कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सदस्य कृष्णाकुमारी राईले प्रदेशको सुकुम्वासी समस्या समाधान गर्न नीति बनाउनुपर्नेमा जोड दिँदै विगतको आयोगले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सदस्य निरण राईले प्रदेशको विकास गर्ने तथा दुई छिमेकी राष्ट्र जोड्ने विराटनगर–किमाथाङका सडक भेडेटार–धनकुटा बजार भएर बनाउनका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
सदस्य बिनादेवी राईले ज्येष्ठ नागरिकलाई स्वास्थ्य, यातायातमा दिइने पचास प्रतिशत छुटको नियम पालना गराउनु अनुगमनको आवश्यकता औँल्याउँदै पहाडी क्षेत्रमा सञ्चालित यातायातमा छुट नपाएको गुनासो राख्नुभयो ।
सदस्य बिमल कार्कीले चतरा र बराह क्षेत्र पौराणिककालदेखि तपोभूमि रहेकाले सुनसरी र उदयपुर क्षेत्रको चुरे क्षेत्रका मानव सभ्यताबारे जानकारी प्राप्त हुने हुनाले प्रदेश सरकारले अनुसन्धानका लागि त्यस क्षेत्रमा उत्खनन गर्न आग्रह गर्नुभयो ।
प्रदेश सभाको बैठक यही चैत २८ गते अपराह्न १ बजे बस्नेछ ।
