जुगल हिमालको सफल आरोहण

चौतारा, २६ चैत : काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।

उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले आज आरोहण गर्नुभएको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।

जुगल हिमालमा पहिलो पटक मानव पाइला

जुगल हिमालमा पहिलो पटक मानव पाइला भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ ।

चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो । सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो ।

सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो । गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् ।

प्रदेश नं ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.