बोस्टन म्याराथनमा धर्मले सहभागिता जनाउने
काठमाडौँ, १९ चैत : धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् ।
फुल म्याराथनको ४५ वर्षमाथि उमेर समूहमा धर्मले नेपालको प्रतिनिधित्व गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
उनीसँगै प्रशिक्षकका रुपमा दक्षिण एशियाली खेलकूदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर पनि बोस्टन जानेछन् । उनीहरुलाई डा खगेन्द्र स्पोर्टस फाउण्डेशनका अध्यक्ष डा खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
टोली आजै बोस्टन प्रस्थान गरेको छ । बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ । अहिले हुन लागेको म्याराथन १२३औँ संस्करण हो । बोस्टन म्याराथन वैशाख २ गते हुनेछ ।
