गोसाइँकुण्ड मार्गमा सरसफाइ

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ४ भदौ : यही भदौ १० गते जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित पार्न धार्मिक मार्ग सरसफाइ गरिएको छ ।

गोसाइँकुण्ड होटल उपसमितिका सल्लाहकार सुब्बा लामाका अनुसार ढिम्सादेखि चोलाङ्पाटीसम्म होटल व्यवसायीका तर्फबाट सरसफाइ गरिएको हो ।

स्थायी होटल कम भएकाले यात्रुको चापलाई ध्यानमा राखी यथेष्ट रुपमा धार्मिक मार्गका ठाउँ ठाउँमा अस्थायी छाप्रा बनाउने काम भैसकेको तथा गोसाइँकुण्ड क्षेत्र विकास समितिले लक्ष्य राखेको १५ हजारभन्दा बढी भक्तजनलाई भोजन गराउन खाद्यान्न ढुवानी र भण्डार भइसकेको छ । भदौको शुरुसँगै पाँच सयभन्दा बढी यात्रु गोसाइँकुण्ड प्रस्थान गरिसकेको होटल व्यवसायी पासाङ ¥यूर्मी तामाङले बताउनुभयो ।

यात्रुको उपचारका लागि हिमालय उद्धार सङ्घले व्यवस्थापन गरेका छ चिकित्सकले धार्मिक मार्गमा उपचार दिन थालिसकेका छन् । यही भदौ ६ गतेदेखि निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिने समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । गोसाइँकुण्डका यात्रुलाई खानपिन र बसोबासको उचित व्यवस्थापनका लागि धुञ्चेदेखि गोसाइँकुण्डसम्म नै व्यवसायीहरु तयार छन् । यस्तै यात्रुको सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा संयन्त्र तयार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि प्राथमिक उपचार स्थान तय भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डीएमका अनुसार धुञ्चेदेखि माथि पाँच स्थानमा स्वास्थ्य शिविर राखिनेछ । गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, बुद्ध मन्दिरमा सक्षम नेपाल गैसस, लौरी विनायकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणलाई प्राथमिक उपचारको जिम्मा दिने तय भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने यात्रु उकालो लाग्ने प्रवेशद्वार मिनी गोसाइँकुण्डमा स्वास्थ्य परामर्श दिने कार्यक्रम तय भएको बताएको छ । स्वास्थ्य शिविर सञ्चालन गर्ने सबै निकायले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा काम गर्नुपर्ने व्यवस्था गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख शिवप्रसाद बडालले जानकारी दिनुभयो । तीर्थमा आउने यात्रुलाई यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रजिअ कृष्ण पौडेलले बताउनुभयो ।

समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिई प्राणीजगत्लाई बचाएर नीलाद्री पर्वतमा विराजमान शंकर गोसाईँको दर्शन जीवनमा एक पटक भए पनि दर्शन गर्ने धार्मिक मान्यता रहिआएको पण्डितले बताएका छन् । गोसाइँकुण्ड समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा पर्छ । विस्तारै विस्तारै हिडी ग्लुकोज पानी प्रशस्त पिउन, खाली पेट नराख्न, थोर थोरै खान, टाउको दुखेमा भिक्स लगाउन र अदुवा, लसुन र कागती चपाउँदै जान समितिका पूर्वउपाध्यक्ष बाबुराम श्रेष्ठले यात्रुलाई सुझाव दिनुभयो । यात्राका क्रममा भेटिएका रङ्गीबिरङ्गीका फूल नचलाउन पनि सुझाव दिइएको छ ।

गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिन्छ । चन्दनबारीबाट उकालो लागेपछि हिन्दू यात्रुले जय शम्भो र बौद्ध धर्म मान्नेले ॐ गोसार्इँकुण्ड ली ल्हा झ्याली निमा भन्दै हिँड्छन् । त्यस्तै लामा झाँक्री आआफ्ना बाजा र झ्याम्टा बजाई नाच्दै कुण्ड पुग्ने चलन रहिआएको स्थानीय बासिन्दा किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो । कुण्डमा पुगी डुबुल्की मारेपछि सबै थकाई समाप्त भई नयाँ अनुभूति प्राप्त हुने तीर्थबाट फर्केका यात्रु बताउँछन् । कुनैकुनै यात्रुले एक हप्तासम्म लौरीविनायकमा बास लिने गर्छन् । हरेक वर्ष गङ्गादशहरामा १० दिन र जनैपूर्णिमाका समयमा पाँच दिन विशेष मेला लागे पनि विसं २०७२ को भूकम्पपछि दैनिक रुपमा सरदर ३० देखि ४० यात्रु गोसाइँकुण्ड जाने गरेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो ।

हिमालयपुत्री पार्वती विराजमान गतलाङको पार्वतीकुण्डमा पनि जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको गतलाङका कामीगारा तामाङले बताउनुभयो । गोसाइँँकुण्डपछि पार्वतीकुण्ड पुग्ने र दुवै कुण्डको जल धैबुङस्थित कालिका मातालाई चढाई घर पुग्ने यात्रुलाई जिन्दगीको उत्तराद्र्धमा सुखका साथ अगाडि बढ्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.