कृष्णमोहन स्मृति ब्याडमिन्टन शुरु

काठमाडौँ, १० चैत : सशस्त्र प्रहरी बल (एपिएफ)का प्रियान्सुसिंह क्षेत्रीले रुपन्देहीका रोशन क्षेत्रीलाई पराजित गर्दै १५ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुआत गरेका छन् ।

एपिएफ क्लबको आयोजनामा आजदेखि शुरु भएको उक्त प्रतियोगिताको पुरुष एकलतर्फको विधामा एपिएफका क्षेत्रीले रुपन्देहीका रोशन कुमाललाई २१–१५, २१–१७ ले पराजित गर्दै विजयी भएका हुन् ।

त्यस्तै आज सम्पन्न खेलमा म्याग्दीका विजय बानियाँ, इटहरीका भोजबहादुर गुरुङ, कञ्चनपुरका गोकुल जोरा, जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिश कटुवाल र आशिष तामाङ, स्वयम्भूका गोकुल तामाङ र कैलालीका अमृत चौधरी विजयी भएका छन् ।

विजयले कीर्तिपुरका दिपेश मुनी बज्राचार्यलाई २१–११ र २१– १४ ले पराजित गरे भने भोजले सुर्खेतका नरेन्द्र बमलाई २१–१५ र २१–१७ ले पाखा लगाए । त्यसैगरी गोकुलले कीर्तिपुरका दिवाकर पाण्डेलाई २१–१७, २१–१५,ले अनिशले रुपन्देहीका दीप सूर्यवंशीलाई २१–१३, २१–१७, आशिषले कपिलवस्तुका रोहित बरालबाट वाक ओभर, गोकुलले काठमाडौँका सन्तोषकुमार पन्तलाई २१– १८, २१– ११ तथा अमृतले मोरङका उज्ज्जल पोखरेललाई २१– १४, २१– १४ ले पराजित गरेका हुन् ।

एपिएफका पूर्वमहानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठको सम्मानमा आयोजना गरिएको उक्त प्रतियोगिता पुरुष÷महिला एकल तथा युगल, मिश्रित युगल, १७ वर्ष मुनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ वर्ष माथिको भेट्रान्स गरी कूल २८७ खेलाडीले सहभागी छन् । प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.