नियमावली मस्यौदा पारित
विराटनगर, १० चैत : प्रदेशसभा (पहिलो संशोधन) नियमावली मस्यौदा, २०७५ बहुमतले पारित भएको छ । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम (१०८) बमोजिम नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सो मस्यौदा पेश गर्नुभएको थियो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ९३(२) बमोजिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफल भयो । छलफलमा प्रदेशसभा सदस्य उमीता विश्वकर्मा, कुलप्रसाद साम्वा, प्रतापप्रकाश हाङ्गा र राजन राईले राष्ट्रको उन्नयन गर्न पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले विधेयकले पर्यटन तथा पर्यटक क्षेत्रमा निकै उपलब्धि हुने प्रकाश पार्नुभयो ।
उहाँहरुले प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले यसतर्फ विधेयकले टेवा दिने भन्दै पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई विधेयकले वैधानिक ढङ्गले अगाडि बढ्न मदत गर्ने कुरामा जोड दिनुभएको थियो ।
शून्य समय
प्रदेशसभामा सदस्य अम्बिका थापाले उदयपुरको रैतुवामा हालै भएका आगलागीबाट पीडित परिवारलाई प्रदेश सरकारले उचित राहतका व्यवस्था गर्न माग गर्नुभयो । सदस्य जयराम यादवले प्रदेश नं १ मा विकास बजेट ११ प्रतिशत मात्र खर्च हुनु चिन्ताजनक भएको उल्लेख गर्दै विराटनगर विमानस्थलमा रहेका बारुणयन्त्रलाई तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य राजकुमार ओझाले अस्थायी शिक्षक लामो समय सेवा गरेर बिदाइ हुने भएकाले त्यस्ता शिक्षकलाई सरकारले अवसर दिनुपर्ने माग गर्नुभयो । सदस्य लोकप्रसाद सङ्ग्रौलाले मोरङको सुन्दर हरैचा नगरपालिकाअन्तर्गत सुुकुना उच्च माविमा शिक्षक एवं प्राध्यापकहरुको मनोमानी चलिरहेकाले छानबिन गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।
सदस्य शिवनारायण गनगाँइले पूर्वाञ्चल विश्वविद्यालयमा तत्काल देखिएका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत ११ गते अपरान्ह् ३ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
