राणा र लोहोनीद्वारा अव विभाजन नहुने प्रतिवद्धता

भरतपुर, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पार्टी विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताउनुभयो । “हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उहाँले भन्नुभयो, “थप नेता र समूहलाई राप्रपामा (संयुक्त) मा ल्याउने तयारी गरेका छौँ ।” राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारीस्वरुप देशव्यापी रुपमा पार्टी सुदृढीकरणको अभियानमा लागेको उहाँले बताउनुभयो । असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्ने उहाँको भनाइ थियो ।

देशको संविधानमा प्रतिबद्ध रहेको र कार्यान्वयनमा सरकारलाई सघाउने राणाले बताउनुभयो । विसं २०४७ पछिको सबैभन्दा बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको उहाँको आरोप थियो ।

अर्का अध्यक्ष डा लोहनीले पार्टीभित्रको कलहका कारण जनताले मत नदिएको बताउनुभयो । पार्टी एक भए सधैँ जनताको विश्वास जित्न सकिने उहाँको भनाइ थियो । “विचार मिल्नेसँग एकता गर्ने हो”, उहाँले भन्नुभयो, “जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।” संविधनले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरिने उहाँले बताउनुभयो । “कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौँ”, डा लोहनीले भन्नुभयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्याक्तिले फाइदा लिएको बताउनुभयो । उहाँले जनता र राष्ट्रका हितमा काम गर्न पार्टी एकीकरण गरेको बताउनुभयो । महामन्त्री सुनिलबहादुर थापाले नीति र सिद्धान्तमा चुकेका कारण जनताले पार्टीलाई विश्वास नगरेको बताउनुभयो । पार्टी एकता सुनौलो अवसर भएकाले उहाँले यसलाई जनतासम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.