पूर्वकप्तान र रेफ्री सम्मानित
काठमाडौँ, २४ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वकप्तान जमुना गुरुङ र रेफ्री बीना श्रेष्ठलाई आज सम्मान गरेको छ ।
एन्फाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज एन्फा कम्प्लेक्समा कार्यक्रमका आयोजना गरी पूर्वकप्तान जमुना र रेफ्री बीनालाई सम्मान कदर पत्रसहित प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महिला कमिटीका अध्यक्ष वृन्दा देवानलगायतले सम्मान गर्नुभयो ।
नेपाली महिला फुटबलमा सफल खेलाडी मानिने जमुनाले सन् २०१० को साफ च्याम्पियनसिपपछि सन्यास लिएकी थिइन् । नेपाली महिला रेफ्रीको परिचय बनाएकी बीना सन् २०१० बाट फिफा एसिस्टेन्ट रेफ्री रहेकी छिन् ।
कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले खेलाडीलाई खुराक र अनुशासन धेरै महत्व रहेको बताउँदै एक दिनमात्र नभएर ३६५ दिनै नारी दिवस मनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले आमाबिनाको जीवन कल्पना गर्न नसकिने बताउँदै अबका दिनमा महिलालाई पनि वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
