शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभएको छ ।
नेकपाद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पु¥याउनुभएको योगदान स्मरण गर्नुभयो । दुवै अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाहरुको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गरिने र दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘उहाँहरुका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उहाँहरुले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेका छौँ ।’’
अध्यक्ष ओलीले भरतमोहन मिलनसार, कडा शब्द प्रयोग गर्न नचाहने र काममा विश्वास गर्ने नेताका रुपमा आफूले पाएको बताउनुभयो । भरतमोहन छ दशकभन्दा नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी भएका नेताका रुपमा आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सजिलोमा मात्र नभई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर कम्युनिष्ट नेता र कार्यकर्ताका रुपमा उहाँ कम्युनिष्ट अभियन्ताका रुपमा लाग्नुभएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले रवीन्द्रले सम्हालेको मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका असाधारण एवम् काम बिर्सन नसकिने र कसैले उपेक्षा गर्न नसक्ने बताउनुभयो । उहाँले शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गर्नुभयो । उहाँले दिवङ्गत हुनुभएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई समृद्ध गर्ने रहेको र निष्ठापूर्वक काम गरेको बताउनुभयो ।
अर्का अध्यक्ष दाहालले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उहाँहरुको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो । ‘‘शोकमा परेको बेला राष्ट्र निर्माणमा नयाँ सङ्कल्प ग¥यौँँ भने मात्र दिवङ्गतप्रति सच्चा सम्मान हुनेछ”, उहाँले भन्नुभयो, “हामी रोएर मात्र पीडा व्यक्त गर्न सक्दैनौँ । हामीले उहाँहरुले गरेका राम्रा कामबाट सामूहिक सङ्कल्प गरेर नयाँ ऊर्जा लिई समाजको अग्रगति तथा प्रगतिको निम्ति शोकलाई शक्तिमा बदल्ने सक्नुपर्दछ ।”
पूर्वप्रधानमन्त्री दाहालले दिवङ्गत व्यक्तिहरुले लाखौँ मानिसलाई उद्वेलित र तरङ्गित पार्ने गरी तथा धेरै लामो समयसम्म छाप छाड्ने गरी मुलुकका लागि भूमिका निर्वाह गरेको बताउनुभयो । “उहाँहरुको निधन पहाडभन्दा गह्रुङ्गो र कहिल्यै नमर्ने खालको छ”, उहाँले भन्नुभयो, “उहाँहरुको निधनले कस्तो जीवनमा आफूलाई लैजाने भनेर सोच्न समेत पे्ररित गरेको छ ।” उहाँहरुको अभावमा देशले नेपालको कम्युनिष्ट आन्दोलन र समग्र आन्दोलनले कति ठूलो क्षति व्यहोरेको छ भन्ने कुरा आउने दिनमा हामी सबैले महसुस गर्दै जाने बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनको अभिभावक रुपमा भरतमोहन र समाजको रुपान्तरणको निकै ठूलो आशा भरोसा गरेको नेताका रुपमा रवीन्द्र रहेको आफूले पाएको उहाँको धारणा थियो । “लाखौँ लाख युवाले आफ्ना लागि ऊर्जाका रुपमा रवीन्द्रलाई लिएका थिए”, उहाँले भन्नुभयो, “उहाँहरुको निधन अकल्पनीय रुपमा भएको छ, आउने दिनमा हामीलाई उहाँहरुको अभाव हुँदै जानेछ ।”
पार्टी महासचिव विष्णुप्रसाद पौडेलले दिवङ्गत हुनुभएकाहरुलाई परेको शोक परिवारका सदस्यलाई मात्र नभई पार्टी र सरकारलाई पनि परेको बताउनुभयो । सभामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहनुभएको थियो । सभामा दिवङ्गतहरुको तस्वीरमा फूलमाला अर्पण गरिएको थियो । सभामा दिवङ्गत हुनुभएका परिवारका सदस्यसमेत सहभागी हुनुहुन्थ्यो ।
