‘आर्थिक समृद्धिको सम्भावना खोजी हुँदैछ’ : मुख्यमन्त्री शाही

‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ अन्तर्गत मंगलवार सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा आयोजित कृषि पर्यटन तथा साँस्कृतिक मेलामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलगायत अतिथिहरु । तस्वीर: शुरबहादुर सिंह, सुर्खेत, कर्णाली प्रदेश ।

सुर्खेत, २१ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिगो आर्थिक समृद्धिका लागि सम्भावनाको खोजी गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । सल्यानको बनगाड–कुपिण्डे नगरपालिकामा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले दिगो आर्थिक समृद्धि गर्न आयस्रोत वृद्धिका आधारहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

“प्रकृति प्रदत्त स्रोतहरुको सही सदुपयोग गरौँ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “आत्मनिर्भर कर्णाली प्रदेश बनाउन कृषिमा जोड दिऊँ ।” महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अवसर सृजना गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हामीसँग भएको स्रोतको पहिचान गरी तिनको उत्पादन, निर्यात र बजारीकरणमा सबल बनौँ र हामीमा लागेको गरीबीको ट्याग हटाऔँ ।”

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुपिण्डेको पर्यटन र बनगाडको संस्कृतिले सल्यान जिल्लाको समृद्धिको आधार भएको बताउनुभयो । उहाँले कृषि उपजसँगै सिङ्गारु, सोरठी, सिरिङ्गे, सैरली, गर्रा नाच र मौलिक संस्कृतिले पर्यटकहरुलाई आकर्षण गर्नाका साथै अर्थतन्त्रमा पनि अपेक्षाकृत वृद्धि हुने विश्वास दिलाउनुभयो ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले कृषि, पर्यटन र सांस्कृतिक मेलाले यहाँका नागरिकको जनजीवनलाई प्रतिस्पर्धी र आत्मनिर्भर बन्न प्रेरणा दिने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अन्न उत्पादनको भण्डारका रुपमा चिनिँदै आएको सल्यान प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले पनि धनी छ ।”

उद्योग वाणिज्य सङ्घ सल्यान, बजार व्यवस्थापन समिति सल्लीबजार र से–फोक्सुण्डो मिडिया प्रालिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । एक सातासम्म सञ्चालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता हुने से–फोक्सुण्डो मिडिया प्रालिका प्रमुख जीवन बिसीले जानकारी दिनुएभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.