जनजागरण अभियानको समापन

भरतपुर, २१ फागुन : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले दुई हप्तासम्म सञ्चालन गरेको मेची–महाकाली जनजागरण अभियानको समापन गरेको छ । चितवनको भरतपुरमा आज सभाको अयोजना गरी अभियानको समापन गरिएको हो ।

समापन समारोहमा मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले मोर्चाले उठाएका मुद्धा मेची–महाकाली अभियानमा जनताले अनुमोदन गरेको बताउनुभयो । उहाँले देशमा अझै महँगी, भ्रष्टाचार, कालोबजारी व्याप्त रहेकाले त्यसको भण्डाफोर गरिने चेतावनी दिनुभयो ।

कार्यक्रममा मोर्चाका सचिव परी थापाले देशको हित विपरीतका असमान सन्धि सम्झौता खारेज गर्न माग गर्नुभयो । उहाँले सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै निरन्तर जनखबरदारी गर्नुपर्ने बताउनुभयो ।

यही फागुन ७ गतेदेखि शुरु भएको अभियान पश्चिम कञ्चनपुरको गड्डाचौकी र पूर्व झापाको विर्तामोडसम्म पुगेको थियो । अभियानको अवधिमा देशका विभिन्न सहरमा भेला र सभा आयोजना गरिएको बताइएको छ । आगामी चैत २४ गतेदेखि शुरु हुने मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी र प्रचारस्वरुप अभियान गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.