सबै कम्युनिष्टलाई एउटै पार्टीमा एकीकृत हुन प्रधानमन्त्री ओलीको आह्वान

इलामको माइनगरपालिकास्थित सुखानीमा मंगलवार सुखानी शहीद स्मृति दिवसको अवसरमा पाँच शहीदहरुको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य: चेतन अधिकारी, प्रधानमन्त्रीका प्रेस संयोजक

भद्रपुर, २१ फागुन : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ ।

झापा विद्रोहका पाँच शहीदको स्मृतिमा इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताउनुभयो ।

उहाँले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने बताउनुभयो ।

“नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिष्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकीकरणको आह्वान गर्दै भन्नुभयो, “आउनुहोस्, शहीदका सपना साकार पार्न सबै कम्युनिष्टको अब एउटै पार्टी बनाऔँ, यसमा केपी ओली र प्रचण्डको कुनै सङ्कीर्णता छैन ।”

विसं २०२९ फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेको घटनालाई १९९४ सालमा चार शहीदलाई राणा शासकले फाँसीको सजाय दिएको घटनासँग तुलना गर्दै प्रधानमन्त्री ओलीले सुखानीका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् उहाँहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गर्नुभएको छ ।

सुखानीका शहीदलाई ‘पहिलो गणतन्त्रवादी शहीद’को सङ्ज्ञा दिँदै उहाँले सुखानीका शहीदले देखेको सपना साकार तुल्याउन वर्तमान सरकार जनमुखी विकासका कार्य गर्दै अघि बढिरहेको बताउनुभयो । हँसिया हथौडाको झण्डा देखाएर कतिपय लुटपाटमा संलग्न भइरहेको बताउँदै उहाँले उनीहरु साँचो कम्युनिष्ट हुन नसक्ने र जनतामा चन्दा आतङ्क र हिंसाको त्रास सिर्जना गर्ने जोसुकैलाई नियन्त्रण गरिने बताउनुभयो ।

झापा बुद्धशान्तिका राम प्रधान, कनकाईका डिल्ली गौतम लगायतका शहीदलाई चाँडै नै राष्ट्रिय शहीद घोषणा गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

स्मृतिसभामा नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताउँदै पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

झापा विद्रोहका पाँच शहीदको ४६औँ स्मृतिसभामा उहाँले नेकपा(एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइने बताउनुभयो । मुलुकमा माओवादी जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकमा आफूले माओवादी विद्रोह र झापा विद्रोहका शहीदलाई साझा शहीद मान्नुपर्ने प्रस्ताव पास गराएको उहाँले सम्बोधनका क्रममा स्मरण गर्नुभयो ।

झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउँदै उहाँले आजभन्दा ४६ वर्षअघि शहीदले सुखानीमा गरेको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको धारणा व्यक्त गर्नुभयो । “रोल्पा र झापा केन्द्र भएका दुवै कम्युनिष्ट पार्टी एकै ठाउँ मिलेर नगई हुँदैन भन्ने सोचेर मैले त्यसबेला झापा विद्रोहका शहीदलाई उच्च सम्मान गर्ने प्रस्ताव ल्याएको थिएँ”, नेकपा अध्यक्ष दाहालले भन्नुभयो, “नेतृत्वकर्ताका रुपमा मैले त्यतिबेला गरेको निर्णय कति दूरदर्शी थियो भन्ने अहिले हाम्रो एकताले साबित गरिदिएको छ ।”

नेकपाको सरकारले जनताले परिणाम पाउने गरी विकासको रेकर्ड बनाउने उल्लेख गर्र्दै नेकपा अध्यक्ष दाहालले मुलुकलाई समाजवादी मार्गमा लगेर जनतालाई सुखी र समृद्ध बनाउने पार्टीको सङ्कल्प रहेको बताउनुभयो । नेकपा अध्यक्ष दाहाल र उहाँसँगै कार्यक्रममा सहभागी प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी ओलीले सुखानीस्थलमा रहेको शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

नेकपा झापाले आयोजना गरेको सो कार्यक्रममा हालै दिवङ्गत नेकपा नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने झापाको विभिन्न आन्दोलनमा शहीद हुनुभएकाको परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.