पूर्वउपप्रधानमन्त्री अधिकारीको निधनमा मालेद्वारा दुःख व्यक्त
काठमाडौँ, २० फागुन : नेकपा (माले) ले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता अधिकारीको निधनले देशले एक निष्ठावान, सम्मानित र लोकतान्त्रिक नेता गुमाएको तथा राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अधिकारीप्रति भावपूर्ण श्रद्घाञ्जलि व्यक्त गर्दै उहाँको शोकसन्तप्त परिवारजन एवं नेकपा पार्टी पङ्क्तिप्रति समवेदना व्यक्त गरिएको छ ।
पहिलो कम्युनिष्ट पार्टीको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी विभिन्न पटक मन्त्री एवं उपप्रधानमन्त्री भई ‘आफ्नो गाउँ आफैं बनाउँ’, वृद्धभत्तालगायतका कार्यक्रममार्फत् लोकप्रिय बन्नुभएको उल्लेख गरिएको विज्ञप्तिमा उहाँले लामो समय तत्कालीन नेकपा (माले) र (माक्र्सवादी) को एकीकरणपछि बनेको नेकपा (एमाले) को पोलिटब्युरो तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
राजनीतिक परिवर्तनको निम्ति चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष जेल जीवन बिताउनुभएका स्व अधिकारी निष्ठावान नेताका रुपमा रहनुभएको मालेले जनाइएको छ । विसं १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरमा जन्मिनु भएका अधिकारीको उपचारको क्रममा ह्याम्स अस्पतालमा यही फागुन १८ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।
