सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरु

डोटी, १७ फागुन : चेम्बर अफ कमर्सले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव आजदेखि शुरु भएको छ ।

महोत्सबको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्दै सुदूरपश्चिमको विकास गर्न यहाँको पर्यटन, कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पुराना कला संस्कृति र पर्यटन क्षेत्रको मात्रै विकास गर्नसके सुदूरपश्चिममा विकासको कायापलट हुनेछ, हामीले हाम्रा सम्पदा जोगाउन अग्रसर हुनुपर्छ ।”

महोत्सवमा सुदूरपश्चिमको डेउडा, हुड्के, लाखे नाँच, तिखाँको भुवाँ नाँच, फुलौटको होली नाँच, पुतला नाँच तथा भारतको हरियाण क्षेत्रको प्रसिद्ध नाँच भाङ्णा पनि प्रदर्शन गरिएको छ । महोत्सवमा भाङ्णा नाँच पदर्शन गर्न तथा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन गर्न भारतको पञ्जाब र तथा हरियाण क्षेत्रबाट कलाकार तथा स्थानीय अहिले दिपायल आइपुगेका छन् ।

‘सेतीको हिरा खप्तडको मोती, व्यापार, कृषि, पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव यही फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । प्रादेशिक महोत्सवको मुख्य आकर्षणमा हेलिकप्टरबाट सुदूरपश्चिमका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलको अवलोकन रहेको छ ।

महोत्सवका क्रममा सञ्चालन गरिने निःशुल्क आँखा शिविरअन्तर्गत आँखा जाँच, औषधि तथा चस्मा वितरण, शल्यक्रिया तथा ३० नानी प्रत्यारोपाणका साथै निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्वास्थ्य जाँच तथा औषधि वितरण गर्ने कार्यक्रम रहेको छ । महोत्सव अवधिभर सुदूरपश्चिमका लोक तथा डेउडा गीत प्रतियोगिता, सुदूरपश्चिमको कला संस्कृति झल्किने झाँकी प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला तथा बाल उद्यान्न र सेती नदीमा ¥याफ्टिङ सञ्चालन गरिने छ ।

जिल्लाका ग्रामीण क्षेत्रका कृषक तथा उद्यमीले आफूले उत्पादन गरेका कृषि उपज, उत्पादित वस्तु, स्थानीय परिकारको महोत्सवमा प्रदर्शन तथा बिक्री वितरण गरिनेछन् । सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनका लागि उक्त महोत्सवको आयोजना गरिएको सो संस्थाका उपाध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.