छरपस्ट अवस्थामा सात शव फेला, शव ल्याउन शुरु

ताप्लेजुङ, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा शवहरु फेला परेको हो । “हेलिकप्टर भिरमा ठोकिएको रहेछ”, प्रहरी नायब उपरीक्षक भण्डारीले रासससँगको फोन सम्पर्कमा भन्नुभयो, “छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको छ ।”
आज बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली आएको थियो । चुहानडाँडामा कार्यक्रम सकेर पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दारेभिरमा दुर्घटनामा परेको हो ।
ताप्लेजुङ सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको भिरमा हेलिकप्टर दुर्घटनामा परेको हो ।
शव ल्याउन शुरु
नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ ।
काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ ।
प्रतिकूल मौसमका कारण शव सङ्कलन प्रभावित
प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।
काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको हो । सेनाको नाइटभिजन हेलिकप्टर हाल सुकेटार विमानस्थलमा छ ।
