आगम्छे मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत

काठमाडौँ, १४ फागुन : हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबै पक्षबीच सहमति जुटेको बताउनुभयो । “निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिँदै धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी नेपाली कालिगढले नै मन्दिर पुनःनिर्माण गर्नेछन्”, उहाँले भन्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएकाबाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताउनु हुँदै मन्दिर पुनःनिर्माणमा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर मन्दिर पुनःनिर्माण गर्ने बताउनुभयो । भूकम्पपछि क्षति भएका संरचना पुनःनिर्माण गर्ने क्रममा आगम्छे मन्दिरको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो । मन्दिरको पुनःनिर्माण जाइकामार्फत गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदायलगायतले त्यसप्रति असहमति जनाएकाले पुनःनिर्माण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.