प्रदेशसभा सदस्य वलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । विसं २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले)तर्फबाट वली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
केही दिनअघि सवारी दुर्घटनामा परी घाइते हुनुभएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
नेकपाद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी वलीको निधनमा दुःख व्यक्त गदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । वलीको आज राति २ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । वली गत माघ २५ गते अपरान्ह ४ बजे बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका–३ को चिसापानीमा सवारी दुर्घटनामा घाइते हुनुभएको थियो । घाइते वलीलाई उपचारका लागि काठमाडाँै ल्याइएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङबाट निर्वाचित हुनुभएको थियो ।
विज्ञप्तिमा अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएका वली तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य हुनुभएको उल्लेख छ ।
