उत्तर कोरियाली प्राविधिक टोली पोखरामा
पोखरा, ५ फागुन : पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ ।
उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरामा आज पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो । प्राविधिक टोलीसँगको भेटमा जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने योजनासहित काम भइरहेको बताउनुभयो । उहाँले पोखरालाई प्रविधिमैत्री शहर बनाउने सपना आफूहरूले देखेको र त्यसअनुरुप काम अघि बढाइएको बताउनुभयो ।
उत्तर कोरियासँग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको, स्मार्ट शहर बनाउने प्रारुप तयार गरिएको र कोरिया प्रविधिमा अगाडि बढेको देश भएकाले मिलेर काम गर्न सक्ने धेरै सम्भावना रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले पोखराको पर्यटन विकासको इतिहास लामो नभए पनि त्यस क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति रहेको र पोखराको पर्यटनको गुरुयोजना बनाएर त्यहीअनुसार अघि बढ्दा नतिजामुखी हुने धारणा राख्नुभयो ।
“गुरुयोजना बनाएर काम गर्दा राम्रो हुन्छ, त्यसैले उत्तर कोरियासँग मिलेर काम गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो, “प्रविधिमा हामी कमजोर छौँ तर हाम्रो अनुभव र कोरियाको प्रविधिसँग मिलेर काम गर्दा राम्रो हुन्छ ।” महानगर उपप्रमुख गुरुङले पर्यटकीय पूर्वाधार निर्माण र प्रविधिसँग जोडेर शहर र नागरिकलाई स्मार्ट बनाउनेतर्फ महानगर लागिरहेको बताउनुभयो ।
उत्तर कोरियाका प्राध्यापक डा चोसले पर्यटनलाई प्रविधिसँग जोडेर अघि बढ्न तयार रहेको बताउँदै त्यसका लागि आफूहरूकोतर्फबाट सहयोग हुने बताउनुभयो । सो अवसरमा पर्यटनविद् श्रीकान्त खतिवडा, पर्यटन व्यवसायी वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले पोखरा पर्यटनको राजधानी रहेको बताउँदै उक्त ठाउँ प्राकृतिक एवं सांस्कृतिकरुपमा मात्र नभई साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्य भएको बताउनुभयो ।
