संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवा
पोखरा, १८ माघ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ ।
काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाउनुभयो ।
लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गर्नुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उहाँले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गर्नुभएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, राजेन्द्रनिधि कोइराला, टङ्कमान नापित, रामकृष्ण पराजुलीलगायतले स्व रेग्मीले प्रजातन्त्र प्राप्तिको संघर्षमा गर्नुभएको योगदानबारे चर्चा गर्नुभयो ।
‘शहीदको बलिदानीकै कारण स्वतन्त्रताको उपभोग’ : प्रवक्ता शर्मा
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शहीदको बलिदानीकै कारण आजको पुस्ताले स्वतन्त्रताको उपभोग गर्न पाएको बताउनुभएको छ ।
शहीद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जलिसभामा उहाँले अमर शहीदले गरेको सङ्घर्ष र योगदान चिरकाल पर्यन्त बाँचिरहने बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गुरुङजस्ता धेरै शहीदले ज्यानको आहुति गरेको स्मरण गर्दै शर्माले उहाँहरूको योगदानलाई पार्टीले सधैँ उच्च मूल्याङ्कन गर्ने र देखाएको बाटोमा आफूलाई निरन्तर क्रियाशील बनाउने बताउनुभयो ।
काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, पूर्वमन्त्री यज्ञबहादुर थापा, क्षेत्रीय सभापति पोषनाथ शर्मा लगायतले शहीद हरिप्रसाद गुरुङले प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा गर्नुभएको योगदान युगौँयुगसम्म बाँचिरहनेमा जोड दिनुभएको थियो ।
देशमा २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि त्यसका विरुद्धमा सक्रिय गुरुङलाई २०१८ सालमा तत्कालीन शासकले आजकै दिन अत्यन्तै अमानवीय क्रूर ढङ्गले हत्या गरेको दिनलाई सम्झँदै प्रत्येक वर्ष स्मृति दिवस एवम् श्रद्धाञ्जलिसभा मनाउँदै आइएको छ ।
