धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको वेदकोट

शेरबहादुर सिंह । भीमदत्तनगर, ११ माघ : हिन्दू धर्मग्रन्थमा ‘वेद’को अर्थ ‘ईश्वर÷भगवान्’ अनि ‘कोट’ भनेको ‘राजा बस्ने ठाउँ’ । यी दुई शब्द मिलेर बनेको हो, ‘वेदकोट’ ।
धार्मिक, सांस्कृतिक, पर्यटन लगायतका दृष्टिकोणले अथाह सम्भावना बोकेको सुदूरपश्चिममा धार्मिक मान्यता बोकेका थुप्रै ताल तलैया पनि छरिएर रहेका छन् । तीमध्ये पछिल्लो समय कञ्चनपुरको उत्तरशिरानमा रहेको वेदकोट ताल पर्यटकीय गन्तव्य बनेको छ ।
धार्मिक दृष्टिकोणबाट कञ्चनपुरलाई सिद्धबैजनाथ बाबाको भूमि भनेर भन्ने पनि गरिन्छ । विसं १४७५ मा भारतको झारखण्डबाट बिहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धबैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ ।
पर्शुरामधाममा रहँदा सिद्धबैजनाथ बाबाको त्यहाँका तत्कालीन राजा नागी मल्लसित खटपट भएपछि उहाँ सो ठाउँ छोडेर बुड्डीमलास पिपलकोट(हालको वेदकोट क्षेत्र) मा आइ तपस्या गरेको धार्मिक मान्यता छ ।
धार्मिक पर्यटनको गन्तव्य वेदकोट ताल क्षेत्रमा वेदकोट नगरपालिकाले धेरै सुधारका काम गर्दै आएको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो । “यहाँ हालै निर्माण गरिएको भ्यू टावरबाट पनि पर्यटकले रमणीय ताल क्षेत्रको अवलोकन गर्न पाइरहेका छन्”, उहाँले भन्नुभयो, “नगरपालिकाको आफ्नै लगानीमा यहाँ बगैँचा निर्माणदेखि मर्मत सम्भारका काम हुँदैछ ।”
त्यसैगरी पछिल्लो केही वर्षयता वेदकोट नगरपालिका–४ स्थित चुरेफेदमा रहेका धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्ग’ले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुँदैछ ।
केही वर्षअघिसम्म गुमनाम रहेको शिवलिङ्ग क्षेत्रमा हाल दैनिक तीन सयदेखि पाँच सय पर्यटकको आवागमन भइरहेको छ । चाडपर्वका बेला यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको स्थानीयवासीको भनाइ छ ।
वर्र्षौंदेखि माटो र ढुङ्गाको मिश्रणबाट शिवलिङ्गजस्तै देखिने आकारका ठूलाठूला पहाडबाट प्राकृतिक रुपले बनेको शिवलिङ्ग हेर्न आउने जोकोही पर्यटक पनि दृष्य देखेर रमाउने गर्छन् । धार्मिक पर्यटनसँगै शिवलिङ्ग क्षेत्रमै रहेको अन्य प्राकृतिक सौन्र्दयताले पर्यटकलाई अझ बढी लोभ्याउने गरेको छ । वर्षामा पनि नपग्लने र वर्षाका बेला आउने पानीको भेललेसमेत असर नगर्नेे आश्चर्यका कारण ती पहाडलाई अवलोकन गर्न मुलुकका विभिन्न क्षेत्रका साथै छिमेकी मुलुक भारतबाट पनि यहाँ पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय शिवलिङ्ग क्षेत्र वनभोजको गन्तव्य पनि बनेको छ । विगत दुई वर्षदेखि यहाँ आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएको स्थानीय व्यापारी सुभान धामीले वितेको एक वर्षमा ५२ हजार भन्दा बढीले शिवलिङ्ग क्षेत्रको अवलोकन गरेको जानकारी दिनुभयो ।
केही समयअघि शिवलिङ्गको फेदमै वेदकोट नगरपालिकाको सहयोगमा मन्दिर निर्माण गरेर पूजाअर्चना गर्न थालिएको नगरप्रमुख चन्दको भनाइ छ । उहाँले वेदकोटसम्म जाने जैविक मार्ग खुलाउन पनि पहल भइरहेको बताउनुभयो । “दैजीदेखि वेदकोटसम्मको सडकमा सुदूरपश्चिम प्रदेश सरकारले पनि कालोपत्रे गर्न थोरै रकम विनियोजन गरेको छ” प्रमुख चन्दले भन्नुभयो, “बजेट समस्याका कारण सडक बनाउन ढिलो भइरहेको छ ।”
त्यसैगरी वेदकोट नगरपालिका–४ मै रहेको प्राचीन घटाल मन्दिर पनि धार्मिक पर्यटनको अर्को महत्पवूर्ण स्थान हो । उक्त क्षेत्र जीर्णोद्वारको प्रखाईमा छ । केही समयअघि नेपाली सेनाले घटाल मन्दिरको मर्मत सम्भार गरेको थियो । “सबै धार्मिक क्षेत्रको पहिचान गरेर वृहत गुरुयोजनाका साथ अगाडि बढ्ने योजना छ”, प्रमुख चन्दले भन्नुभयो, “धार्मिक पर्यटन विकासले यस क्षेत्रको आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्नेछ ।”
