मानव सेवा आश्रमलाई २४ करोडको जग्गा दान, भवन शिलान्यास
चितवन, ७ माघ : मानव सेवा आश्रम भरतपुरका लागि दाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न आज शिलान्यास गरिएको छ ।
भरतपुर महानगरपालिका–३ वेलचोकमा प्रेमकुमार श्रेष्ठ र स्व भगवानदास श्रेष्ठको परिवारले आठ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएको छ । सो जग्गा प्रचलित दरअनुसार रु २४ करोडभन्दा बढी मूल्य पर्ने बताइएको छ ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भवनको शिलान्यास गर्दै बेवारिसे अवस्थामा रहेकालाई उद्धार, उपचार र पालनपोषणको काम आश्रमले गर्दै आएको बताउनुभयो ।
आश्रमका प्रवक्ता सुमन बर्ताैलाका अनुसार तीन वर्षभित्रमा चार करोड खर्च गरेर भवन बनाउने योजना छ । भवनमा दुई सयले सेवा पाउने उहाँले बताउनुभयो । हाल भरतपुरमा ६० जना सहयोगापेक्षी छन् । विसं २०६९ साल भदौ १३ गते हेटौँडामा स्थापना गरिएको मानव सेवा आश्रमको पहिलो शाखा २०७२ साल माघ २३ गते चितवनमा खुलेको थियो ।
हाल ६ प्रदेशका १२ जिल्लाको १४ ठाउँमा ६५० सहयोगापेक्षीलाई आश्रमले सेवा दिइरहेको छ । आश्रमको हेटौँडामा करीब रु पाँच करोडको लागतमा भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
