तारेभीर महोत्सव उद्घाटन, प्रचारप्रसारमा जोड
काठमाडौँ, १ माघ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राजधानीको उत्तरपूर्वी भेगमा रहेको पर्यटकीय तारेभीर क्षेत्र काठमाडौँमै जन्मिएकाले पनि नचिनेकाले प्रचारप्रसारको खाँचो रहेकामा जोड दिनुभएको छ ।
पाँचौँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उहाँले घरवासको विकास गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उपत्यकाको अधिकांश दृश्य देखिने तारेभीर क्षेत्रमा पदयात्रा मार्गको विकास गरी पर्यटकलाई धेरै दिनसम्म बसाउन सकिने उहाँको भनाइ थियो ।
सांसद कृष्ण राईले पर्यटन पवद्र्धन, कृषि र पशुपालनका माध्यमबाट तारेभीर क्षेत्रका तामाङ समुदायको समृद्धि हासिल हुने बताउनुभयो । शिवपुरीको उच्च भाग तारेभीरमा पर्यटक आकर्षण गर्न सरोकार भएका निकायको समन्वयमा काम गरिनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले तारेर चट्टान आरोहणस्थल निर्माण गरी विश्वका पर्यटक आकर्षित गरिनुपर्ने बताउनुभयो । उहाँले भुइँ स्याउ, लप्सी, च्याउखेतीका माध्यमबाट पनि तारेभीरलाई चिनाउन सकिनेमा जोड दिनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जगडोल शिवपुरी तारेभीर वाग्द्वारसम्म केबलकार निर्माण गरी पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो । जनतालाई शेयर दिएर केबलकार चलाउने योजना नगरपालिकाको रहेको उहाँले जानकारी दिनुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले तारेभीरलाई उपत्यकाको शिरका रुपमा विकास गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गोकर्णेश्वर–३ मा पर्ने तारेभीर बूढानीलकण्ठ–२ को सीमा नजीकमा रहेको छ ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख विन्दु सिम्खडा, गोकर्णेश्वर–३ का अध्यक्ष राजेन्द्रकुमार भण्डारी, महोत्सव आयोजक समितिका अध्यक्ष जयकुमार लामालगायतले तारेभीरको पर्यटन प्रवद्र्धनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।
