लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) र भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) बीच एकीकरण हुने

काठमाडौँ, २५ साउन : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस(बिपी) सँग चाँडो एकता हुने बताउनुभएको छ ।
पार्टी निकट युवा शक्तिले आज यहाँ आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उहाँले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट गर्नुभयो । डा लोहनीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय उत्पादन, सन्तुलित वैदेशिक नीति, भ्रष्टाचारमुक्त समाज निर्माण (पृथ्वीपथ) तथा सबै जनताले दुई छाक खान पाउने बिपी कोइरालाको समाजवादको सिद्धान्त (बीपीपथ) का आधारमा एकीकृत नयाँ पार्टीलाई अगाडि बढाइने प्रष्ट
पार्नुभयो ।
मुलुकमा अहिले बलियो सरकार स्थापना भए पनि समाजमा हत्या, हिंसा र बलात्कारका घटना हुनाले शान्ति सुरक्षा कमजोर रहेको देखिएको बताउँदै उहाँले काला बजारीलाई दण्डित गर्न नसकेकाले जनता महंँगीको मारमा परेकाले अविलम्ब प्रशासनिक सुशासन कायम गर्न माग गर्नुभयो । पार्टीले यसअघि हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) सँग एकीकरणका लागि सैद्धान्तिक रुपमा सहमति गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा राप्रपाका प्रेम मगरका नेतृत्वमा राप्रपा र राप्रपा(प्रजातान्त्रिक) परित्याग गरी एक सय पाँच जना नेता तथा कार्यकर्ता एकीकृत राप्रपा(राष्ट्रवादी)मा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.