सदरखोर डिल्लीबजारबाट सिंहदरबार पुगेर चौधरीले लिए शपथ
काठमाडौँ, १९ पुस : प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन ।
सिंहदरबारमा आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन ।
शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गर्नुभएको थियो ।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए ।
शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी हुनुहुन्थ्यो ।
सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पु-याइएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
राप्रपाद्वारा सपथको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ ।
पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ ।
उक्त घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचनपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीलाई प्रहरी हिरासतमा राखिएकामा आज प्रतिनिधिसभा सदस्यको सपथ गराइएको थियो ।
