इपिएलको उपाधि ललितपुर प्याट्रियसलाई

काठमाडौँ, ७ पुस : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ । भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको छ । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो । 

ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । भैरहवाका लागि प्रदीप ऐरीले ३४, रबी इन्दर सिंहले २९, कुशल मल्लले १६, कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४÷१४ रन बनाएका थिए । 

ललितपुरका ललित नारायण राजवंशीले तीन, पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले ५७, सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भूर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए । भैरहवाका कृष्ण कार्कीले तीन, मोहमद नाभिद र रायन टेन डेसकाटेले समान दुई/दुई विकेट लिएका थिए । 

विजेता टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । गत मङ्सिर २२ गतेदिख शुरु भई आज समापन भएको प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.