किसुनजीको आदर्श जीवनबाट पाठ सिक्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ । 

किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उहाँले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भन्नुभयो । 

“सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,”उहाँले भन्नुभयो । नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएको बताउनुभयो । 

किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उहाँको भनाइ थियो । काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर राजनीतिक गर्ने नेता स्व भट्टराई भएको बताउनुभयो । “अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्ति काङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्ति हुनुहुन्थ्यो,”उहाँले भन्नुभयो । 

विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उहाँले बताउनुभयो । “किसुनजी कार्यकर्तालाई माया गर्नुहुन्थ्यो, पार्टीभित्र दुःख गरेका व्यक्तिलाई उचित पद दिनुहुन्थ्यो,” गिरीले भन्नुभयो । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले किसुनजीमा आर्थिक पारदर्शीता भएको बताउनुभयो । “नैतीक मूल्य मान्यतामा किसुनजी बस्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । सांसद नरोत्तम वैद्यले बहुदल पुनस्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजी पार्टीको नीति विपरीत नजाने व्यक्ति भएको बताउनुभयो । “किसुनजी आफैँलाई धेरै पत्रकारिताको ज्ञान भएकाले पत्रकारको समस्या सजिलै बुझ्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारे खोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको बताउनुभयो ।

त्यसैगरी वरिष्ठ नेता पौडेलले दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनाप्रति आफू निकै मर्माहत भएको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, दुर्घटनामा २२ जनाको ज्यान गइसकेको छ भने धेरै शिक्षक तथा बिद्यार्थीहरु घाइते भएको समाचारले मलाई अत्यन्तै दुखित बनाएको छ । यो दुखद घडिमा म मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.