नेकपा निकट दुई कानून व्यवसायी एशोसिएशनबीच एकीकरण

गणतान्त्रिक प्रगतिशिल कानुन व्यावसायी एशोसियशन तथा पेशागत प्रगतिशील कानुन व्यवसायी सङगठनबीच एकतापछि नेपाल कानुन व्यावसायिक सङगठनको घोषणा कार्यक्रमा बोल्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली साथमा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेललगायत । तस्बीर: प्रदीपराज वन्त

काठमाडौँ, १ पुस : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ ।

तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौँ ।”

मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरुले अनेकखालका प्रचार गरेको भन्दै उहाँले अकारण प्रचार युद्ध शुरु गरेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीले तालीम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछाँै भन्ने सपना नदेखे हुन्छ ।”

प्रधानमन्त्री ओलीले जनताको शासनमा नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्ने गलत प्रचार गरिएको बताउँदै कम्युनिष्ट सरकारले यस्तो नगर्ने स्पष्ट पार्नुभयो ।

गणतान्त्रिक प्रगतिशिल कानुन व्यावसायी एशोसियशन तथा पेशागत प्रगतिशील कानुन व्यवसायी सङगठन बीच एकतापछि नेपाल कानुन व्यावसायिक सङगठनको घोषणा कार्यक्रमा उपस्थित कानुन व्यवसायीहरु । तस्वीर: प्रदीपराज वन्त

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानून व्यवसायीले काम गर्नु पर्नेमा जोड दिनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमीकमजोरीलाई पूर्णता दिन पार्टीका कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नयाँ गठन भएको नेपाल कानून व्यवसायी सङ्गठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा दिनमणि पोखरेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन भएको छ । यसअघि सङ्गठनको नेतृत्व रुद्र नेपाल र एशोसिएशनको नेतृत्व रमन श्रेष्ठले गर्नुभएको थियो । दुई पार्टी एकतापछि दुई सङ्गठनबीच एकता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.