‘बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

काठमाडौँ, २५ मङ्सिर : नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।

बृहत् लोकतान्त्रिक युवा इञ्जिनीयर भेलालाई सम्बोधन गर्नुहुँदै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी अहिले ढलेको मात्र हो मृत हैन भन्दै देशभरका इञ्जिनीयले सिङ्गो लोकतान्त्रिक समूहलाई जिताई पार्टीलाई सञ्जीवनी बुटी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले सङ्घीयता कार्यान्वयन गर्न नसक्ने आरोप लगाउनुभयो । सरकारले लोकतान्त्रिक मान्यताका आधारस्तम्भ, विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गरेको उहाँको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित रहेको धारणा राख्नुभयो । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, महामन्त्री भूपेन्द्रजङ्ग शाही, नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल इञ्जिनीयर्स एशोसिएशनका पूर्वअध्यक्षहरु सरोज देवकोटा, किशोर शाक्य, ध्रुव थापा, वर्तमान अध्यक्ष हरेराम श्रेष्ठलगायतले लोकतान्त्रिक समूहले जिते मात्र सिङ्गो मुलुकको समृद्धि सम्भव हुने धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.