इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण 

दमौली, २ मङ्सिर : तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङले झरनामा क्यानोनिङको परीक्षण गरेको भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानसिंह थापाले जानकारी दिनुभयो ।

ड्रिमल्याण्ड क्यानोनिङका प्रबन्ध निर्देशक बोनी गुरुङको नेतृत्वमा चार जनाको टोलीले क्यानोनिङको परीक्षण गरेको थियो । ४० मिटर अग्लो झरनामा क्यानोनिङ गर्न उपयुक्त देखिएको गुरुङले बताउनुभयो । क्यानोनिङको सफल परीक्षणपछि अब यसको पूर्वाधार निर्माणमा जोड दिइने उहाँले जानकारी दिनुभयो ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.