बेलायतमा नेपाल प्रवद्र्धन
काठमाडौँ, २६ कात्तिक : बेलायतको लण्डनमा भएको ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले सहभागिता जनाई आकर्षक पर्यटकीय गन्तब्यबारे प्रवद्र्धन गरेको छ ।
यही कात्तिक १९ देखि २१ गतेसम्म आयोजित मेलामा नेपाल पर्यटन बोर्डको समन्वयमा निजी क्षेत्रका पर्यटन व्यवसायसँग सम्बन्धित ३२ संस्थाको सहभागिता रहेको थियो । मेलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले गर्नुभएको थियो ।
पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रुपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो । नेपालले अघिल्लो वर्षभन्दा फरक ठाउँमा आकर्षक स्टल राखेर प्रवद्र्धन गरिएको थियो ।
नेपाल प्रवद्र्धनका सामग्री राखिएको नेपाली स्टल बेलायत र आसपासका मुलुकबाट आएका पर्यटन व्यवसायी, टुर अप्रेटर, निजी कम्पनी तथा मिडियाका प्रतिनिधिले उत्सुक्तापूर्वक अवलोकन गर्नाका साथै नेपालको अवस्था र विभिन्न पर्यटकीय गन्तव्यबारे जिज्ञासा राखेका थिए । नेपाली स्टलमा नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे जानकारी गराइएको थियो ।
उक्त मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क र विस्तारलाई पुर्नताजकी गर्ने अवसर मिलेको बताइएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेला विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । जर्मनीको बर्लिनमा मार्च (भाफुन)मा प्रत्येक वर्ष आयोजना हुने ‘इन्टरनेशनल ट्राभल टुरिजम बर्लिन’ (आइटिबी) मेला विश्वकै पहिलो पर्यटन मेला मानिन्छ ।
मेलामा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको नेतृत्वमा दूतावासका अधिकारले नेपाली स्टल अवलोकन गरेको थियो । सो अवसरमा राजदूत सुवेदीले दुई देशबीचको परम्परागत सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै बेलायतबाट नेपालको पर्यटनले लाभ लिनसक्ने धारणा राख्नुभएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेलाकै क्रममा नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय ‘ट्राभल क्राइसेस म्यानेजमेन्ट समिट’ मा सहभागिता जनाएको थियो । विश्वका पर्यटन व्यवसायीको जमघट रहेको समिटमा पर्यटन उद्योगमा देखापरेका विविध समस्याको समाधानबारे छलफल भएको थियो ।
उक्त कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीलाई ‘इन्टरनेशनल इन्स्टिच्युट फर पिस थ्रु टुरिजम नामक संस्थाले’ च्याम्पियन इन च्यालेन्ज अवार्ड’ बाट सम्मान गरेको थियो । भूकम्पलगायत विविध चुनौतीबीच नेपालमा पर्यटकको सङ्ख्या वृद्धि र नेपाल गन्तव्यको अन्तर्राष्ट्रियकरण गर्न उल्लेख्य योगदान गरेबापत यो अवार्ड प्रदान गरेको हो ।
