अस्पताल भवन निर्माणमा सहयोग जुटाउन कार्कीको दौड
काठमाडौँ, २५ कात्तिक : दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले आज पूरा गरेका छन् ।
करीब २५ किलोमिटर दूरीको दौड कार्कीले दुई घण्टा समय लगाएर पूरा गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । कार्कीले २५१औँ सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुङ्गाएका थिए ।
सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रु पाँच हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।
दौडबाट सङ्कलन हुने रकम कालीकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोगस्वरुप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन् । कार्कीको दौडलाई रुसलान एफएमले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा गोदावरी नगरपालिका, गणेशमान अस्पताल, अक्सब्रिज कलेज, देउसी भैलो ग्रुप, गोदामचौर, ललितपुर निर्माण व्यवसायी, दरबार स्क्वायर मनिचेन्जर, गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष हरिहर कार्कीलगायत हुनुहुन्छ ।
ललितपुरको गोदावारीस्थित गोदामचौर निवासी काकी यसअघि २०६४ सालमा १०१ दिन दौडेर ७५ जिल्ला पुगिसकेका छन् । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी दुई पटक, काठमाडौंदेखि लुम्बिनी छ पटक, काठमाडौंदेखि दोलखा तीन पटक र काठमाडौँदेखि पोखरा एक पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौँदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगिसकेका छन् ।
