पुरुष क्लब लिग भलिबल पोखरामा
काठमाडौँ, २५ कात्तिक । नेपाल भलिबल सङ्घको आयोजनामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुसमा पोखरामा हुने भएको छ ।
पोखरामा आगामी पुस १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले महासचिव जीतेन्द्रबहादुर चन्दले जानकरी दिनुभयो ।
यसअघि गत वर्ष फागुनमा भएको राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएको १२ टोलीमध्ये शीर्ष आठ स्थान हासिल गर्ने टोलीले लिगमा भाग लिनेछन् । सो प्रतियोगितामा हरेक टोलीले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । त्यस्तै प्रतियोगिताको विजेता टोलीले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।
तेस्रो हुनेले रु ५०, हजार, चौथो हुनेले रु २५ हजार पाउने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागतरुपमा उतकृष्ट हुने खेलाडीले रु पाँच÷पाँच हजार हात पार्नेछन् । प्रतियोगितामा सहभागिता जनाउने टोलीमा नयाँबजार सामाजिक युथ कलब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब, मणिमुकन्नद भलिबल क्लब (बुटवल), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्र रहेका छन् ।
