पौडी खेलाडी बिदाइ

काठमाडौँ, २५ कात्तिक : सिङ्गापुरमा आयोजना हुने फिना वल्र्ड कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी सङ्घले आज बिदाइ गरेको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सङ्का महासचिव जगतमान श्रेष्ठले तीन खेलाडीसहित पाँचजनालाई बिदाइ गर्नुभयो । यही कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म सिङ्गापुरमा आयोजना हुने प्रतियोगितामा खेलाडीतर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साइद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा विष्णु खड्का हुनुुहन्छ ।

प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रिस्टायल र ५० र १०० मिटर बे्रस्ट स्ट्रोक तथा शाहले ५० मिटर फ्रिस्टायल, ५० र १०० मिटर ब्रेस्ट स्ट्रोक र ५० र १०० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडीको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

बिदाइ कार्यक्रममा नेपाल पौडी सङ्घका सचिव एवं वरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्वप्रमुख प्रशिक्षक वाङ्देन लामा र प्रमुख प्रशिक्षक शङ्कर कार्कीको पनि उपस्थिति रहेको थियो । टोलीलाई बिदाइ गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए ।

यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो व्याक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३औँ दक्षिण एशियाली खेलकूदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शङ्कर कार्कीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सम्मानित 

बज्रबाराही मुँवा थाई क्लब र टीकाभैरव बुदोकैदो शाखाले संयुक्तरुपमा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खेलाडीहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै टीकाभैरव बुदोकैदो शाखाले खेलाडीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा गत भदौमा थाइल्याण्डमा सम्पन्न दोस्रो थाइल्याण्ड गभर्मेन्ट अथोरिटी क्योकुशिन अन्तर्राष्ट्रिय प्रतियोगितामा खुला तौल समूहमा प्रथम स्थान हात पार्ने विजय सिंह र तेस्रो स्थान हात पार्ने कविराज माली तथा ३५ केजी तौलमा रजत पदक प्राप्त खेलाडी दीपेश सापकोटा रहेका छन् ।

यस्तै नेपालमा आयोजना भएको तेस्रो केब्याग अन्तर्राष्ट्रिय मुँवाथाई च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देशार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.