राष्ट्रपतिदेखि सर्वसाधारण सम्मले यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै दिदीबैनीबाट दाजुभाइलाई भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी भाइटीकाका अवसरमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिँदै । तस्बिरः सौजन्यः राष्ट्रपतिको कार्यालय

काठमाडौँ, २३ कात्तिक : यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत दिएको थियो । दिदीबहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ ।

राष्ट्रपतिबाट भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन भाइटीकापछि बहिनीहरुका साथ । तस्बिर: सौजन्य उपराष्ट्रपतिको कार्यालय

उपराष्ट्रपति पुन–टीका

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनुभएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनुभएको हो ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट भाईटीकाको फूलमाला ग्रहण गर्नुहुँर्दै । तस्बिर: रत्न श्रेष्ठ

प्रधानमन्त्री ओली–टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।

टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.