कूटनीतिसम्बन्धी तालीम सम्पन्न

काठमाडौँ, १६ कात्तिक : सम्मेलन कूटनीति, बहुपक्षीय वार्ता तथा मानवअधिकारसम्बन्धी सघन तालीम सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय तालीम तथा अनुसन्धान संस्था (युनिटार)को संयुक्त आयोजनामा यहाँ आयोजित पाँच दिने सघन तालीम आज सम्पन्न भएको हो ।

तालीममा बहुपक्षीय कूटनीति तथा मानवअधिकार परिषद्अन्तर्गत हुने सम्मेलनमा सहभागी हुने, सम्मेलन सञ्चालन गर्ने तथा प्रतिनिधिमण्डलका तर्फबाट पालना गर्नुपर्ने प्रक्रिया, संयुक्त राष्ट्रसङ्घको महासभा, सुरक्षा परिषद्, अन्य विभिन्न निकाय तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)मा गरिने अभ्यासबारे जानकारी गराइएको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले कर्मचारीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भएकाले मन्त्रालयले यस्ता तालीम सञ्चालन गर्ने गरेको बताउनुभयो ।

तालीममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल प्रहरीका अधिकृत तथा उच्च अधिकृत तहका ३४ जना कर्मचारीको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तालीममा स्रोत व्यक्तिको रूपमा संयुक्त राष्ट्र सङ्घीय तालीम तथा अनुसन्धान संस्थाका विशेषज्ञ तथा स्वीडेनका कूटनीतिज्ञ पूर्व राजदूत लार्स टिल्फर्स तथा संयुक्त राष्ट्रसङ्घ, जेनेभा मुख्यालयका मानवअधिकार विशेषज्ञ युसिफ हम्दानलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.