भर्ना छनोटमा अनियमितता गर्नेमाथि कोर्ट मार्शल गरिँदै

नारायण न्यौपाने । काठमाडौँ, ९ कातिक : नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ ।

सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो ।

उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दण्ड र सजाय सुनाउने छ । अदालतले कसूरको मात्र हेरर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ ।

सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदण्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानको क्रममा समितिले करीब ३०० सोधपुछ गरेकोमा करीब १८० संलग्न रहेको भनी समितिले सिफारिश गरेको थियो । २०७४ सालको सैन्य भर्नामा अनियमिता भएको प्रतिवेदनको आधारमा करीब १८० माथि कोर्ट मार्शलको प्रक्रिया अघि बढेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

सैन्य भर्ना छनोटसम्बन्धी घटनामा यति ठूलो सङ्ख्यामा कोर्ट मार्शल भएको यो पहिलो घटना हो । यसअघि सैनिक अदालतमा सेनाभित्र खासगरी अनुशासन उलङ्घन, आर्थिक प्रलोभन र लागुऔषधमा संलग्नजस्ता विषयमा उजूरी पर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.