विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं, १२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।
मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको बताए ।
‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन हुने विश्वास व्यक्त गरे। उनले विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने विद्यार्थी उत्पादनमा पनि जोड दिए।
‘हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ?,’ उनले भने, ‘विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्छु।’
