सर्लाहीबाट प्रत्यक्षमा महिला न्यून, लुङ्गेली मात्र निर्वाचित
सर्लाही, १३ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला रहेका थिए ।
महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बेची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी हुन् ।
जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गगरिन् ।
“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन् ।
