बार्सिलोनाबाट बिदाइ हुँदा पत्रकार सम्मेलनमा रोए मेस्सी
काठमाडौं, २४ साउन : स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन् ।
बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिए । उनले बार्सिलोनाबाट आफूले कसरी बिदा भन्नु पर्छ भन्ने कहिल्यै नसोचेको बताए ।
बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेसीले आफू क्लब छाड्न तयार नरहेको बताएका छन् ।
बार्सिलोनाले बिहीबार मेसीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेको थियो । नयाँ सम्झौताका लागि दुवै पक्ष सहमत भएको भनिए पनि बार्सिलोनाले अन्तिम समयमा यस्तो घोषणा गर्यो । २१ वर्ष बार्सिलोनामा बिताएका मेसीले भने, ‘गत वर्ष धेरै कुराहरू भए । तर यस वर्ष स्थिति फरक थियो । म यो अवस्थाका लागि तयार थिइनँ ।’
बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए । उनले आफ्नो कुरा सकेपछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए ।
सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए ।
यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो ।
आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो ।
१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो ।
यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो ।
सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए ।
तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो । जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो ।
अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए ।
मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन् । उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए ।
सिजनमा बार्सिलोना ला लिगामा तेस्रो भयो । बार्सिलोना २००८ पछि ला लिगामा तेस्रो भएको थियो ।
बार्सिलोना तेस्रो भए पनि मेसी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए ।
मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए ।
मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ ।
मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए ।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन् । उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन् । उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन् ।
