प्रतिक्रियावादीका मतियार माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौं, १६ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले माधव नेपालसहितका नेताहरूलाई मुख्य–मुख्य ‘अपराधी’को रूपमा चित्रण गर्दै उनीहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्।

‘बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने।’

अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्ता प्रतिक्रियावादीहरूका मतियारका लागि पार्टीमा ठाउँ छैन।’

उनले माधव नेपाल पक्षका अन्य नेताहरूलाई भने पार्टीका आउन पुनः आह्वान गरे।

‘अरू साथीहरू गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं। आउनुहोस्- यो पार्टी हामी सबैले बनाएका हौं’, अध्यक्ष ओलीले थपे, ‘गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं।’

उनले माधव नेपाल पक्षमा नेताहरू नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरूका लागि नरहेको दाबी गरे।

आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दाबी गरेका छन् । खुट्टा तान्ने तत्वहरु अब पार्टीभित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको भनाइ थियो ।

“अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ । किनभने, पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् । अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उमेदवार बनाउन खोज्यो, नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन्, उसलाई उमेदवारको रुपमा अघि सार्नुपर्छ भन्ने,” शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, “अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।”

अध्यक्ष ओलीले आगामी निर्वाचनमा सशक्त हैैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टीका सबै नेता–कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.