काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ७ साउन : काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा संक्रमण भएको हो ।

जसमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन् ।

योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन् । काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन् ।

बिहीबार थप २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ८८ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या छ लाख ३७ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २७ हजार १६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.